२०८२ पुस १०, बिहिबार
  • User भोलाराज पौडेल जेष्ठ ८, २०८०

रास्वपाको जिल्लाको गतिविधि कसरी अघि बढेको छ ?

रास्वपा नुवाकोट अहिले नुवाकोटका १२ वटै पालिकामा मतदाता शुभेच्छुकहरुसँग छलफल, समसामयिक राजनीतिक योजना तर्जुमा, विकासको नाममा स्थानीय स्तरमा भएका अनियमितताको विवरण संकलन गर्दै यस्ता अनियमिततालाई रोक्ने दीर्घकालीन र अल्पकालीन योजना निर्माणका साथै आम नागरिकसँग भेटेर उहाँहरुको प्रत्यक्ष सरोकार, जनजीवनमा आइपरेका समस्या र समाधानको उपायको बारेमा छलफल गर्दै जनतासँग प्रत्यक्ष सरोकारका बिषयमा केन्द्रित भइरहेको छौं ।

तपाईको पार्टीले अहिले संगठन विस्तारको काम अघि बढाएको हो ?

हजुर, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको देशैभर संगठन बिस्तारका कार्यक्रमहरु सञ्चालन भइरहेको छ । हामी जिल्लामा रहेका १२ वटै पालिकाको ८८ वटै वडा समिति गठनको प्रक्रियामा जुटेका छौँ ।

तपाईको पार्टीको जिल्लास्तरको पार्टीको संरचना कस्तो रहेको छ ?

हाम्रो पार्टीको जिल्लास्तरमा पार्टीको संरचना समन्वय समिति मात्रै रहने गरी जिल्लामा संयोजक र सह संयोजक जम्मा २ जनाको समिति रहने ब्यबस्था छ । ५/५ सदस्य निर्वाचन क्षेत्रीय समिति रहने छ र पालिका समितिमा ४ कार्यकारी पद तथा प्रत्येक वडाबाट १ जना पालिका सदस्य रहने गरी समिति गठन गर्ने संरचना निर्माण गरिएको छ ।

संगठन विस्तार सबै पालिकामा सकिएको हो कि ?

हालसम्म १२ वटा पालिकामध्ये बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका र शिवपुरी गाउपालिका भेला सम्पन्न गरी तीनै पालिकामा तदर्थ समिति गठन गरिसकेका छौ । यही जेठ २० गते पञ्चकन्या गाउँपालिका र लिखु गाउँपालिका भेला आयोजना गरेका छौ । सोही अनुसार नै अन्य ७ पालिकामा पनि संगठन बिस्तार का कार्यक्रम आयोजना गर्दै जाने योजना हाम्रो रहेको छ ।

पार्टी निार्माण भएको छोटो समयमा नै पार्टीले नुवाकोटमा राम्रै मन जित्न सफल भयो ? यो कसरी सम्भव भयो ?

मानिसहरुमा अहिले धेरै चेतनाको विकास भइसकेको अवस्था छ । सबैलाई परिवर्तनको खाँचो छ, कुनै पनि नकारात्मक स्वार्थ नबोकी राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । जस्ले गर्दा मानिस परम्परागत रुपमा चल्दै आएका राजनीतिको विरुद्ध भएपनि बिद्रोह आवश्यक छ भन्ने सोचाइको विकास हुनाले पनि अहिले सबैको मन मा घण्टी बजेको छ, दिमाग बजेको छन् । अवका पछिल्ला पुस्ताले सास्ती भोग्नुपर्ने छैन भन्ने सोचाइले पनि रा.स्व.पा नुवाकोटले नुवाकोटका सचेत नागरिकको मन जित्न सफल भएको हुनुपर्छ । नुवाकोटे जनताले हामी माथि अत्याधिक बिश्वास गरिरहेका छन्, आम नागरिकबाट भएको यो विश्वासलाई हाम्रो पार्टीले पनि संयमतापूर्वक, जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिरहेको छ ।

नयाँ पार्टीमा सर्वसाधरणको रुची कस्तो छ ?

वास्तवमा भन्नुपर्दा पुराना पार्टीहरुले बिगतदेखि वर्तमानसम्म आइपुग्दा धेरै कुरामा जनतालाई झुट्टा आश्वासन, भ्रस्टाचारमा संलग्न भएको हुनाले मानिस नयाँ पार्टीले अव ती हर्कतहरु दोहो¥याउने छैन भनी अधिक रुचाएका हुन् पहिलो पटक मै नुवाकोट क्षेत्र नं. १ र नुवाकोट क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतलाइ हेर्ने नै हो भने पनि सर्वसाधारण रुचि अत्याधिक छ भनेर बुझ्न सकिन्छ ।

तपाईको पार्टीको निति, सिद्धान्त, उद्देश्य के के हुन् ?

हाम्रो पार्टीको मुख्य दर्शन भनेको बिधिको शासन स्थापित गर्नु नै हो । सामाजिक न्याय सहितको समनता, योग्यता र कर्मशीलता, भ्रष्टाचारप्रति शुन्य सहनशीलता आदि हुन् । पार्टीको मूलभुत सिद्धान्त भनेको संबैधानिक समाजवाद हो । राजनीतिक सुदृढीकरण अभियानबाट राजनीतिलाइ सुसज्जित र जवाफदेही बनाइ अघि बढ्ने लगायतका उद्देश्यहरुलाइ आत्मसात गर्दै अघि बढिरहेको छौं ।

अरु पार्टीमा रुष्ट भएकाहरुको जमातको बाहुल्य रहेको पार्टी भनिन्छ नि ?

हाम्रो देशमा राजनैतिक अवस्था यस्तो छ कि, कोही जन्मिदै कुनै न कुनै पार्टीको सदस्य भएर जन्मलिएको हुन्छ । कुनै न कुनै पार्टीमा आवद्ध नभएको मानिस सायदै छन् तर, राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य नारा ‘जान्नेलाइ छान्ने’ भएको हुनाले पनि यदि साँच्चै समाज, राष्ट्र, मुलुक बनाउने अनुभव भएका, योग्य कर्मठ ब्यक्तिलाइ त्यो जुन पार्टीको किन नहोस्, जुन भाषाको किन नहोस्, जुन जातको किन नहोस्, उसलाइ अवसर दिँदै वास्तबमै देशको हितमा टेवा पुग्छ भने त्यस्ता जमातलाई रा.स्व.पा ले अवसर दिने गर्दछ ।

रास्वपा कस्तो आश्वसन बाँडेर संगठन गरिरहेको छ ?

हामीले अहिलेसम्म कुनै पनी बनावटी, देखावटी आश्वासन बढ्नु परेको छैन । किनकि सबै नागरिकले आफै बुझिसक्नु भएको छ । रास्वपाको उद्देश्य, व्यबहारिकता, उसले उठाएका विषयवस्तुहरु, अहिले गरिरहेका काम, सांसदहरूको प्रस्तुतीलगायतले नै मानिस आफैं कसरी जोडिएर काम गर्न सक्छौं भनेर स्वतस्फूर्तरुपमा संगठनमा आबद्ध भइरहनु भएको छ र संगठनमा आवद्ध हुनको लागि आतुर छन् ।

अन्तमा नुवाकोटवासीलाई के भन्नुहुन्छ ?

पार्टीको गतिविधि राख्ने अवसर दिनु भएकोमा तपाईलाई धन्यवाद । नुवाकोटवासी तमाम आमाबुबा दाजुभाइ, दिदिवहिनी, शुभेच्छुक, शुभचिन्तक, मतदातामा धेरै धेरै धन्यवाद दिन चाहन्छु । गत निर्वाचनमा संगठन नै नभएको पार्टीलाई नुवाकोटका दुबै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ यति धेरै मत दिएर ऋणि बनाउनु भएको छ, सम्पुर्णमा हार्दिक नमन व्यक्त गर्दछु । रास्वपाले गर्दै आएका सकारात्मक कर्ममा उचित साथ सहयोग सल्लाह सुझाव र कही नराम्रो काम गरिहालेमा खबरदारी र रचनात्मक आलोचना को लागि पनि अनुरोध गर्दछु ।

  • User भोलाराज पौडेल प्रकाशित: जेष्ठ ८, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !