२०८२ पुस १०, बिहिबार

आयोजकसँग नजिक हुने सञ्चारमाध्ययमले वढी सुविधा लिएको गुनासो छ

  • User योसमय सम्वाददाता माघ २४, २०८०

नुवाकोट महोत्सव २०८० लाई यहाँले कसरी लिनु भएको छ ?

नुवाकोट उद्योग वाणिज्य संघको आयोजना हुन लागेको महोत्सवलाई हामी सञ्चारकर्मीको हिसावले भन्नुपर्दा अहिलेको आर्थिक संकटको बेला अर्थतन्त्र चलायमान गराउने एउटा माध्यम हुनसक्छ । किनभने अहिले विकास निर्माणका काम पछि परेका छन् अर्थतन्त्र तरलताका कारण आर्थिक चलायमान हुन सकेको छैन । यस्ता मेला महोत्सव हुँदै गर्दा कम्तिमा रोकिएको अर्थतन्त्र उकास्न र ठप्प रहेको व्यापार व्यायसायलाई चलायमान बनाउन यो महोत्सवले भूमिका खेल्ने हामीले अपेक्षा गरेका छौँ ।

अहिलेको आर्थिक मन्दीको बेलामा हुन लागेको महोत्सवले नुवाकोटवासीलाई फाइदा होला ?

तपाईले सान्दर्भिक प्रश्न गर्नुभयो, यो आर्थिक मन्दीका बेला गर्न लागेको महोत्सवमा स्थानीय प्राथमिकता दिनुपर्छ । जवसम्म महोत्सवमा हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदैनाँै तवसम्म जिल्लावासीलाई खासै फाइदा हुँदैन । यस अघिका महोत्सवमा हामीले के देखेका छौँ भने जिल्लामा हुने महोत्सवमा जिल्लाबाहिर उत्पादन भएका र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले भरिएका हुन्छन् । त्यसले जिल्लाभित्रका व्यवसायी तथा नुवाकोटवासीलाई कुनै फाइदा हुँदैन । अव आर्थिक मन्दीको बेलामा हामीले साँच्चिकै जिल्लाभित्रको अर्थतन्त्र चलायमान बनाउने हो भने हामीले कम्तिमा महोत्सवमा ८० प्रतिशत उत्पादन आफ्नै जिल्लाको राखेर विक्रि वितरण गर्न सक्छाँै । स्थानीय कृषि उपज, स्थानीय घरेलु हस्तकलाका सामान, आफ्नै जिल्लाको सीप र स्रोतबाट उत्पादन भएका सामग्री विक्रि वितरण गर्न सक्छौ । यस्ता सामानहरुको बजारीकरण गर्न सकियो भने बल्ल नुवाकोटको अर्थतन्त्र सबल बन्न र यो आर्थिक मन्दीको बेला केही हदसम्म भएपनि फाइदा हुन्छ ।

तपाई त नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्ष पनि हुनुहुन्छ, महोत्सवले जिल्लाका सञ्चारकर्मीलाई कस्तो फाइदा होला ?

महोत्सव जुनसुकै संस्था वा निकायले गरेको भएपनि यो जिल्लाको गहना हो । महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउँछ । हामी सञ्चारकर्मीको हैसियतले यस्ता क्रियाकलापलाई रचनात्मक साथ र सहयोग दिनैपर्छ । महोत्सव सफल भयो भने जिल्लावासीको सफलतासँग जोडिन्छ । जिल्लावासीको सफलतामा सञ्चारकर्मीहरुले असहयोग गर्ने भन्ने कुरै आउँदैन । सञ्चारकर्मीहरुले असहयोग गरे भने आयोजकले चाहे अनुसारको सफलता प्राप्त गर्न सक्दैन । हामी सञ्चारकर्मीले महोत्सवलाई कुन हिसावले सफल बनाउन सकिन्छ भनेर सञ्चारकर्मीले मात्र होइन, आयोजकले पनि सबैसँग बसेर सल्लाह सुझाव लिएर अघि बढ्नुपर्छ । सञ्चारकर्मीलाई राखेर कसरी अघि बढ्न सकिन्छ, सञ्चारकर्मीको भूमिका यस्तो हुनेछ, हाम्रो दायित्व यस्तो हुन्छ भनेर आयोजकले भन्न सक्नुपर्छ । तर, आयोजकले अहिलेसम्म जिल्लाका सञ्चारकर्मीहरुसँग समन्वय र सल्लाह गरेको जानकारी मलाई छैन । तर, पनि आयोजकले केही गरेन भनेर हामी सञ्चारकर्मी जिल्लाको प्रतिष्ठाको विषय भएकाले पन्छिन पनि मिल्दैन ।

आयोजकले जिल्लाका सञ्चारकर्मीसँग कस्तो किसिमको समन्वय गर्नुपर्ला ?

मेला महोत्सव भन्ने विषय अर्थतन्त्रलाई चलायमान बनाउन गरिएपनि आर्थिक लाभसँग जोडिएको हुन्छ । संस्थालाई आर्थिक रुपमा फाइदा हुँदै गर्दा सञ्चारमाध्यम र सञ्चारकर्मी पनि श्रमजिवी हुन् । उनीहरुले आफैंले परिश्रम गरेर आफू आत्मनिर्भर हुने व्यावस्था गरेका छन् । सञ्चारकर्मीको आत्मनिर्भरमा फाइदा हुने खालका सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।

आयोजकले सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

आयोजकहरुले जिल्लाका सञ्चारमाध्यमहरुलाई विभेद गरेको भन्ने कुरा मैले सुनेको छु । आयोजकसँग नजिक हुने साथीले बढी सुविधा लिएको र संघको पहुँच भन्दा बाहिर रहेका साथीहरु त्यो सुविधाबाट बञ्चित हुन परेको गुनासो मैले सुनेको छु । होला, महोत्सवको प्रचारप्रसारमा बढी लाग्ने सञ्चारमाध्यमलाई केही बढी सुविधा दिनु स्वभाविकै हुन्छ । तर, यसो भन्दैमा सबैलाई एउटै श्रेणीमा राख्ने, कसैलाई पाखा र कसैलाई काखा गर्नु हुँदैन । म पूर्व अध्यक्षको हैसियतमा आयोजकलाई के भन्न चाहन्छु भने जिल्लाका सञ्चारकर्मीहरुलाई समान रुपमा हेर्नुपर्छ । यस्ता समस्या समाधानको लागि जिल्लाका सञ्चारकर्मीसँग बसेर उहाँहरुलाई कसरी परिचालन गर्न सकिन्छ, कस्तो खालको व्यवहारले सञ्चारकर्मीलाई पनि फाइदा हुन्छ र महोत्सव सफल बनाउन पनि सकिन्छ भनेर छलफल चलाउनुपर्छ । आगामी दिनमा जिल्लाभित्र क्रियाशील सञ्चारसंस्थालाई फाइदा हुने खालको काम अघि बढाउन पनि म आग्रह गर्दछु ।

  • User योसमय सम्वाददाता प्रकाशित: माघ २४, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !