
नुवाकोटमा खेर जाने कागजबाट अण्डा राख्ने क्रेट उत्पादन गर्ने उद्योगले रोजगारी बढाएको छ । चार वर्ष अघि ७५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको साथी रिसाईक्लिङ्ग ईष्डष्ट्री प्रालीले सुरु गरेको यो व्यवसायमा अहिले २१ जनाले रोजगारी पाइरहेका छन् ।

चार वर्ष अघि जिल्लामा अण्डा उत्पादन हुने तर, प्याकेजिङ गर्ने क्रेट बाहिरबाट आयात गर्नुपर्ने परिस्थितिलाई ध्यानमा राखेर चाइनाबाट सो मेसिन खरिद गरी विदुर नगरपालिका वडा नं. ५ माझिटारमा यो उद्योग सञ्चालनमा ल्याएका हुन् । इश्वर राई, प्रकाश पाठक, सुरजमान श्रेष्ठ, नारायणप्रसाद खनाललगायतको टिमपनि यो उद्योग स्थापना गर्दा सहभागी थिए ।
सुरुमा ७५ लाख रुपैयाँमा सुरु गरिएको यो व्यावसाय अहिले विस्तार गरेर एक मेसिन र टहरोसमेत थप गरी डेढ करोड भन्दा माथिको लगानी रहेको छ । उद्योग स्थापना हुँदा नेपालमै पहिलो पटक उच्च क्वालिटीको क्रेट उत्पादन गर्ने मेसिन भएपनि अहिले यस्ता मेसिन अरु जिल्लामा पनि स्थापना भइसकेको छ । उद्योगको दैनिक ५ सय वन्डल क्रेट उत्पादन क्षमता भएपनि सुकाउने जाली थप गरेर अहिले एक हजार वन्डलसम्म उत्पादन गर्दै आएको छ ।
नुवाकोटमा उत्पादिन लेयर्स कुखुराले पारेको अण्डा राख्नको लागि प्रयोग हुने क्रेट नुवाकोटसहित चितवन, सुनसरी र पोखरामा विक्री हुँदै आएको सञ्चालन रघुनाथ रिमालले बताए । पछिल्लो समय आर्थिक मन्दीका कारण उत्पादनलाई घटाउनु परेको उनको गुनासो छ । कुखुरापालन व्यावसाय नै कम भएका कारण पछिल्लो समयमा उत्पादनलाई केही घटाउनु परेको उनी बताउँछन् ।

कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायत कागजका खेर सामग्रीको प्रशोधन गरी क्रेट निर्माण हुने कम्पनीले जनाएको छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्रेट तयार पार्दछ । घाममा सुकाएपछि क्रेट बिक्रीको लागि तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै पुगेर संकलन गर्ने रोजगारीसमेत प्रदान गरेको छ ।
यसबाहेक विदुर नगरपालिकाले संकलन गरेको फोहोरमा उद्योगको लागि चाहिने कागज संकलन गर्ने र खरिद गर्ने व्यवस्थासमेत मिलाएको छ । ‘जाडो महिनामा आगो बाल्ने र अरु बेला कुहिएर खेर जाने कागज हामीले २० देखि २५ रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेका छाँै’ रिमालले भने– ‘३, ४ वटा गाडीमा घरघरमै पुगेर कागज खरिद गर्ने व्यवस्था छ ।’ विदुर नगरपालिकाको डम्पिङ साइडबाट संकलन हुने फोहोरको मात्रै कम्पनीले मासिक डेढदेखि दुई लाख रुपैयाँ तिर्दै आएको छ । कतिपय बालबालिका, वृद्धवृद्धाहरु एक विटो कागज उद्योगमा बोकेर आउँदा कपि कलम तथा एक छाप टार्न सकिन्छ भन्ने मानसिकताले विक्री गर्न आउने गरेका रिमाल बताउँछन् ।

प्रयोगमा आएर खेर गएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज बिक्री गरेर आम्दानीको स्रोत बनेको छ ।

भोलाराज पौडेल




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !