२०८२ कार्तिक २१, शुक्रबार

एउटाले बनाउने अर्कोले भत्काउने

  • User योसमय सम्वाददाता चैत्र २१, २०८०

विदुर / सरोकारवाला निकायको आपसी समन्वयको अभावमा करोडौं लगानीका आयोजनाहरुमा क्षति हुने गरेको छ ।

विभिन्न निर्माण प्रक्रियामा सहभागी हुने जिल्लाका सरकारी निकायवीचको समन्वयको अभावमा एउटा निकायले बनाउने र अर्को निकायले भत्काउने गर्दा करोडौँ रुपैयाँ लगानी भएका योजनाहरु दीगो र टिकाउपूर्ण हुन नसकेका उदाहारण थुप्रै भेटिन्छन् ।

नुवाकोटको विदुर नगरपालिकामा सञ्चालन भएका दुई योजनाहरुको आपसी छलफल र समन्वय नहुँदा ढल निर्माण तथा प्रशोधन आयोजना निर्माण र कालोपत्रे सडकलगायत पक्की भौतिक संरचनाहरु भत्काईएको छ । एउटा सरकारी निकाय बनाउँदै अघि बढ्दो अर्को निकाय भत्काउँदै अघि बढ्ने कार्यले विकास निर्माणका गतिविधिमा सरकारी निकायको लाजमर्दो अवस्थाको चित्रण हुने गरेको छ ।

सडक निर्माण गर्दा हटाउनुपर्ने विजुलीका खम्वा नेपाल विद्युत प्राधिकरणले हटाउन नमान्ने रोग नुवाकोटको विकास निर्माणको पूरानो रोग हो । सडक निर्माण गर्दा वन क्षेत्र कटानीमा पर्ने हैरानी अर्को समस्या हो । यस्ता समस्या त नुवाकोटवासीको लागि नौलो होइन । तर, विदुर नगरपालिकाको देखिएको यो समस्या भने अलि फरक खालको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरद्वारा विदुर नगरपालिकामा निर्माणाधिन विदुर र त्रिशुली बजार ढल निर्माण तथा प्रशोधन कार्यका लागि आयोजना र बिदुर नगरपालिकाबीच समयमै छलफल र समन्वय नहुँदा लाखौं रुपैयाँको लगानीमा निर्माण भएका सडक योजना भत्काउन थालिएको छ । अहिले विदुर नगरपालिकाका सहरी तथा आवासीय क्षेत्रहरुमा निर्माण गरिएका करोडौं लागतका कालोपत्रे सडक तथा पक्की भौतिक संरचना भत्काउनु परेको हो ।

आयोजनाद्वारा २०७७ सालमा नुवाकोटको विदुर नगरपालिकाका ६ वटा वडाका शहरी र आवासीय क्षेत्रहरुलाई लक्षित गरी ढल निर्माण तथा प्रशोधन कार्य अन्तर्गतको डिपिआर तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

नगरपालिका र आयोजनाबीच यस बिषयमा समन्वयको अभावमा अहिले त्यसयता नगरपालिकाद्वारा विदुर लगायत बट्टार, त्रिशुली, कलोनी, पिपलटार, माझिटार र ईनारपाटीलगायत विभिन्न स्थानहरुमा निर्माण गरिएका करिव १८ किलोमिटर आसफाल्ट र प्रिमिक्स प्रविधिको कालोपत्रे सडक तथा भौतिक संरचना भत्काउँदै आयोजनाद्वारा ढल निर्माण तथा प्रशोधन कार्य अघि बढाइएको हो ।

  • User योसमय सम्वाददाता प्रकाशित: चैत्र २१, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !