
राप्रपा नुवाकोटको विदुरमा (चैत १६) गर्न लागेको विरोध कार्यक्रमको तयारी कस्तो छ ?
राप्रपाले देशव्यापी गर्न लागेको कार्यक्रम तयारी स्वरुप हामीले जिल्लास्तरमा यो विरोध कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । राप्रपाले चैत २७ गते उपत्यका घेराउ कार्यक्रम गर्न लागेको छ । त्यही कार्यक्रमलाई मध्यनजर गरेर हरेक जिल्लामा राप्रपाले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नुवाकोटमा पनि विरोधसभा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसको लागि हामीले जिल्लाका १२ वटै पालिकाका पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं राष्ट्र र राष्ट्रियताप्रति माया गर्ने तथा हिन्दु राज्य चाहने सम्पूर्ण नागरिकको सहभागिता हुनेछ ।
राप्रपाले कस्तो माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ?
राप्रपाले विभिन्न ४० बुँदे माग राखी सरकारको ध्यानाकर्षण गराएको थियो । ४० बुँदे मागको बारेमा सरकारले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन । त्यसैले हामीले चैत्र १६ गते विदुरमा विरोधसभा र २७ गते उपत्यका घेराउ कार्यक्रम सञ्चालन गरेका हौँ । राष्ट्र जोगाउन र मुलुकमा बढिरहेको भ्रष्टाचारीहरुलाई कारवाही गर्ने, राष्ट्रपति प्रणाली अन्त्य गरी राजसंस्थालाई पुर्नस्थापना गर्ने, प्रदेश संरचना खारेज गर्ने, ०४७ सालभन्दा पछि नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुपर्ने, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्नेलगायतका माग राखी हामीले सरकारको ध्यानाकर्षण गराएका थियौँ । तर, यी कुनै पनि माग पूरा गर्नेतर्फ सरकारको ध्यान गएको छैन । हाम्रा अन्य मागहरुमा समयमै किसानलाई विउ मलको व्यवस्था मिलाउन, गरिव नागरिकले पनि सर्वसुलभ उपचार सेवा प्राप्त गर्ने वातावरणको सिर्जना गर्न तथा सर्वसुलभ शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्नुपर्नेलगायतका माग हाम्रो रहेको थियो । ती माग संवोधन नभएका कारणले उपत्यका घेराउ गरी सरकारको आँखा खोल्न हामीले कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।
राप्रपाले राखेका मागप्रति सरकार उदासीन भएको हो ?
हामीले राखेका मागप्रति राज्य जिम्मेवार भएको छैन । देशमा रोजगारी नहुँदा दैनिक हजारौँको संख्यामा विदेशिनुपर्ने बाध्यताको अन्त्य नभएसम्म देश विकास हुन्न भन्ने हाम्रो बुझाई हो । तर, राज्यले हाम्रा मागहरु वेवास्था गरिरहेको छ । मागहरु पूरा नभए हामी व्यवस्था नै परिवर्तन गर्न पनि पछि नपर्ने दृढ विश्वासका साथ हामीले आन्दोलनका कार्यक्रम अघि बढाएका हाँै ।
नुवाकोटमा हुने कार्यक्रमका कुन कुन नेताको सहभागिता रहन्छ ?
हाम्रो कार्यक्रममा पार्टीका आदरणीय नेता डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउनुहुनेछ भने विशेष अतिथिमा धवलशम्मेर जवरा हाम्रो पार्टीको महामन्त्री आउँदै हुनुहुन्छ भने पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पनि कार्यक्रममा आउनुहुनेछ । त्यसबाहेक पनि थुप्रै नेताहरु कार्यक्रमलाई संवोधन गर्न आउने कार्यक्रम रहेको छ ।
पार्टीका कार्यकर्ता मात्रैको आन्दोलन हो कि अरुको ऐक्यवद्धता रहन्छ ?
१० वटै गाउँपालिका र दुई वटा नगरपालिकाका सबै हाम्रा पार्टी कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, यो देशलाई माया गर्ने, यो माटो, धर्तीलाई माया गर्ने, संस्कृति, हाम्रो हिन्दु देश हुनुपर्छ भन्ने सम्पूर्ण ओमकार परिवार ९४ प्रतिशत हुँदाहुँदै पनि यो देशमा धर्मनिरपेक्ष लादेकोमा हामीलाई आपत्ति छ । यो आपत्तिमा समर्थन गर्ने सम्पूर्ण नागरिकहरु पनि हाम्रो आन्दोलनमा सहभागिता हुनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । त्यसकारण सबै धर्मालम्वीहरुलाई हामीले आव्हान गरेका छौँ । यो देशलाई माया गर्ने, देशमै रोजगारी प्राप्त गर्ने परिस्थिति सिर्जना नभएसम्म सम्पूर्ण महानुभावहरुलाई हाम्रो कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दछौँ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !