
आजकाल के मा व्यस्त हुनुहुन्छ ?
आजकाल म महोत्सवकै सेरोफोरोमा विभिन्न जिल्लामा अतिथिको रुपमो महोत्सवको अवलोकलन गर्ने क्रममा छु । धेरै जिल्लाहरुमा भइरहेका महोत्सवकै सेरोफेरोमै रहेर महोत्सवलाई कसरी सफल बनाउने, नुवाकोटको आर्थिक विकास कसरी हुन्छ भन्ने विषयमै केन्द्रीत छु । महोत्सवमा नुवाकोटका स्थानीय उत्पादनलाई कसरी विकास गर्ने, गाउँपालिका तथा कृषि ज्ञान केन्द्रलगायतका कार्यालयहरुमा कसरी समन्वय गर्ने जस्ता कुराहरुमै केन्द्रित रहेको छु ।
आठौं नुवाकोट महोत्सव कहिलेबाट सुरु हुँदैछ रु तयारी कस्तो छ ?
यहि माघ २६ गतेदेखि नुवाकोट महोत्सव सुरु हुँदैछ । म नुवाकोट उद्योग वाणिज्य संघमा आइसकेपछि दशैंको वैठकमै बागमति प्रदेशका जिल्लाहरुसँगको समन्वय गरेर हामीले महोत्सवको मिति तय गरेका थियौँ । बागमति प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षहरुको सल्लाहमा एउटा जिल्लाले अर्को जिल्लाको महोत्सव नजुधाउने सहमति भएकोले हाम्रो महोत्सव माघ २६ गते पुगेको हो । महोत्सवको लागि संघका कार्यसमिति, सञ्चारकर्मी र अन्य व्यक्तिहरुको सहयोगमा कामको जिम्मेवारी बाँडफाँड गरी विगतका महोत्सवको तुलनामा यो महोत्सवलाई अझै व्यवस्थित बनाउने गरी तयारी भइरहेको छ । अहिलेसम्म हामीले गर्नुपर्ने कामको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अव चाँहि हाम्रो काम तिब्र गतिमा हुन्छ । महोत्सवको सामान आइसकेको छ । स्टल लगायतका अन्य पूर्वाधार निर्माणको काम सुरु भइसकेको जानकारी गराउन चाहन्छौँ ।
यस पटकको महोत्सव विदुरमै हुँदैछ ?
हो, यस पटक हामी विदुरमै महोत्सव गर्दैछौँ । विदुर सदरमुकाम पनि हो । सबैलाई पायक पनि पर्ने र यसबैलाई समेट्नको लागि पनि विदुरमै आयोजना गरिएको हो ।
सात वटा महोत्सव सम्पन्न भइसक्दा नुवाकोटको समग्र विकासमा कस्तो योगदान भयो जस्तो लाग्छ ?
विगतमा मेला, महोत्सव उद्योग वाणिज्य सघले सञ्चालन गरिहेकोमा अहिले त विभिन्न क्लव, संघसंस्था तथा अन्य निकायले पनि गर्न थालेका छन् । हामीले सञ्चालन गर्ने महोत्सवले गरेका आम्दानी पारदर्शी हुन्छन् । महोत्सवमा हामीले गरेका आम्दानी सामाजिक काममा खर्च हुन्छ । हामीले महोत्सवको आम्दानीले विदुर क्षेत्रमा सिसिटिभी राख्ने काम गरेका छौँ । यसको लागि ३० लाख रुपैयाँ खर्च संघले गरेको छ । हामीले राखेका सिसिटिभि अहिले मर्मत गर्नुपर्ने अवस्थामा पुगको छ । अहिलेको महोत्सवमा भएको आम्दानीले त्यो मर्मत गर्ने सोच पनि हामीले राखेका छौँ । महोत्सवले जिल्लाको उद्योग, व्यापारमा विस्तारका साथै लगानीको सम्भानाहरुको खोजी भइरहेको छ । आर्थिक गतिविधि चलायमान बनाउन पनि महोत्सवले भूमिका खेलेको छ । कोभिडपछिको आर्थिक असर अहिले देखिन थालेको छ । बजार, व्यवसाय ठप्प छ । नुवाकोट मात्र होइन, अरु जिल्लामा पनि यस्तै असर परिरहेको छ । महोत्सव गर्दा होटल व्यवसायमा राहत मिल्ने, व्यापार व्यवसाय चलायमान बनाउन पनि महोत्सवले भूमिका खेलेको हुन्छ । महोत्सवले व्यक्तिले रोजाइको सामान त पाउने नै भए, त्यसबाहेक व्यवसाय सञ्चालनको लागि पनि मेला महोत्सवले काम गरेको हुन्छ ।
पहिलाको महोत्सव र यो महोत्सवमा कस्तो भिन्नता छ ?
महोत्सव हरेक पटक नै फरक हुने गर्दछ । महोत्सवले सञ्चालन गरिने क्रियाकलापहरु मान्छेको आवश्यकता र चाहना अनुसार परिवर्तन भइरहन्छन् । यसपाला हामीले जिल्लाको कृषि क्षेत्रको बजारीकरणको लागि स्थानीय उत्पादनको स्टल सञ्चालन गर्नको लागि ५० वटा स्टल निःशुल्क प्रदान गर्नेछौँ । ती स्टलबाट नुवाकोटको चिनारी झल्कने खालका विभिन्न उत्पादनहरुका स्टल राख्न सकिनेछ ।
आर्थिक संकटको बेला हुन लागेको महोत्सवले कसरी नुवाकोटलाई फाइदा पुग्ला ?
महोत्सवले हामी आयोजकलाई नाफा होला या घाटा होला, त्यो फरक कुरा हो तर, आर्थिक संकट भोगिरहेका व्यवसायीहरुलाई केही हदसम्म राहत यो महोत्सवले दिनेछ । मेला महोत्सवले लामो समय निरासामा रहेका व्यवसायीहरुलाई थप उर्जा दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ । सुतिरहेको अवस्थामा बजार जगाउने काम महोत्सवले गर्नेछ ।
महोत्सवहरु अहिले फेसनको रुपमा अरु संघसंस्थाले पनि गर्न थालेका छन् । संघले गर्ने महोत्सव र अरुले गर्ने महोत्सवमा भिन्नता केही छ ?
यहाँले राम्रो प्रश्न सोध्नुभयो । उद्योग वाणिज्य महासंघको ७७ वटै जिल्लामा सञ्जाल छ । अझ नगरमा पनि छ । महोत्सव हिजो उद्योग वाणिज्य संघले मात्रै गर्दथ्यो । संघले सञ्चालन गर्ने महोत्सवमा स्थानीय प्रशासनले पनि सुरक्षा दिइरहेको हुन्छ । व्यक्ति तथा संघसंस्थाले गर्ने महोत्सवको नाफा एउटा व्यक्तिमा मात्र हुन्छ भने हामीले गर्ने महोत्सवको हिसाव पारदर्शी र सामाजिक काममा खर्च हुन्छ । महोत्सव व्यापार संघ, उद्योग वाणिज्य संघले मात्रै गर्ने हो । हरेक संघसंस्थाको आफ्नै खालको उद्देश्य हुने गर्दछ । व्यापार व्यवसाय प्रवर्धनको क्षेत्रमा काम गर्ने उद्योग वाणिज्य संघले मात्रै हो भनेर संघका जिल्ला अध्यक्षहरुबाट पनि उठेको कुरा हो ।

भोलाराज पौडेल




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !