
विदुर / युवा जनशक्ति विदेश पलायनको मारले गर्दा गाउँमा काम गर्ने मजदुरको अभाव हुन थालेको छ ।
दैनिक हजारौ युवा विदेश पलायन भएपछि ग्रामीण क्षेत्रका गाउँहरुमा काम गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हुन थालेका छन् भने खेतीपातीको लागि समेत जनशक्ति अभाव हुन थालेको छ । नुवाकोटका विभिन्न गाउँमा स्थानीय जनशक्ति अभाव भएसँगै बाहिर जिल्लाहरुबाट समेत मजदुरहरुले रोजगारी पाउन थालेका छन् ।
जिल्लाको बेलकोटगढी नगरपालिकाको विभिन्न ठाउँमा मात्रै एक हजार भन्दा बढी घरेलु मजदुर जिल्ला बाहिरका छन् । सल्यान, सुर्खेतलगायतका विभिन्न ठाउँमा मजदुरीमा काम गर्नेहरु बढ्न थालेका छन् । पोल्टीफर्म, कृषिकर्म, घरेलु काम, खेतीपातीको लागि दैनिक ज्यालादारी मजदुरसमेत बाहिरी जिल्लाबाट आउन थालेको स्थानीय माधवप्रसाद भट्टले बताए । ‘गाउँमा काम गर्ने जनशक्ति नभएपछि बाहिरी जिल्लाहरुबाट श्रमिकहरु काम खोज्दै आउने गरेका छन्’ उनले भने – ‘यस्ता मजदुर हाम्रो नगरपालिकामा मात्रै एक हजारको हाराहारीमा रहेका छन् ।’
गाउँमा युवा शक्ति नहुँदा मजदुरको ज्यालामा बृद्धि भएको छ । पहिला ५ सय देखि ६ सयसम्ममा मजदुरी गर्नेहरु अहिले अहिले एक हजार रुपैयाँसम्म लिने गरेका छन् । कतिपय स्थानहरुमा त एक हजार पाँच सय रुपैयाँ दैनिक ज्याला तिर्नुपर्ने बाध्यता रहेको छ । गाउँमा काम गर्ने बढ्नुमा गाउँमा रहेका युवापुस्ता रोजगारीका लागी विदेशिनु प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् ।
‘अहिले त गाउँमा खेताला लगाउन पनि नसकिने भयो, बेलकोटगढी नगरपालिका वडा नं.१० का जीवराज कँडेलले भने– ‘ज्यालादरमा बृद्धि हुँदा किसान मारमा परेका छन् ।’ गाउँमा युवा नभएका कारण पैसा तिरेर पनि मजदुरी गर्नेहरू भेटिन छाडेको उनी बताउँछन् ।
काम गर्ने उमेर समूहका युवाहरु सहर केन्द्रीत र र रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै जिल्लाका अधिकांश गाउँ युवाविहीन बन्न पुगेका छन् ।
युवाशक्ति रोजगारीका लागि खाडी सहित युरोपका विभिन्न देश र अमेरिका जाने क्रम पछिल्लो समय बढेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।
युवा शक्ति पलायन हुनुमा देशमा रहेको बेरोजगारी, राजनितिक अस्थिरता, शैक्षिक वेरोजगार, सीपमुलक काम नहुनु प्रमुख कारण हो । रोजगार विभागका अनुसार तथ्याङक अनुसार नेपालका ३५ प्रतिशत युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !