२०८२ कार्तिक २५, मङ्लबार

सुजना खतिवडा संयोजक, महिला उद्यमी विकास समिति, नुवाकोट उद्योग वाणिज्य संघ

  • User योसमय सम्वाददाता माघ १७, २०८०

नुवाकोट महोत्सवमा महिला उद्यमीहरुको सहभागिता कसरी हुँदैछ ?

नुवाकोटमा छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सीप प्रर्दशनको लागि जिल्लाका महिला उद्यमीहरुको सहभागीता रहने गरी ५० वटा स्टलको व्यवस्था मिलाइएको छ । यी ५० वटा स्टल संघले निःशुल्क प्रदान गरेको छ । कृषि तथा महिला उद्यमीका लागि स्टल राखेवापत आतेजाते खर्च र खाजा खर्चसमेत संघले नै व्यवस्था मिलाइदिएको छ । त्यसको लागि मैले जिल्लाका महिला उद्यमीहरुसँग समन्वय गरेर यी स्टलमा आफैंले उत्पादन गरेको र आफ्नै सीप प्रदर्शन हुने खालका सामग्री राखिनेछ ।

५० वटा नै स्टल महिला उद्यमीहरुका लागि मात्रै हो कि ?

यसमा घरेलु उद्यमीका लागि यी स्टल प्रयोग हुनेछ । महिलासहित कृषि, घरेलु उद्यमीको पनि यहाँ स्टल हुनेछ । महिला उद्यमीलाई पहिलो प्राथमिकता हुनेछ ।

नुवाकोटका महिला उद्यमीका कस्तो खालको उत्पादन महोत्सवमा राखिनेछ ?

महिला उद्यमीले घरमै बसेर बनाएको अचार, मकैको खोस्टा र परालबाट बनेका चकटी, ढाकाका उत्पादन (तान नै राखेर बुन्नेसमेत),थैली, हस्तकलाका अन्य सामान, ककनीको गमलामा फलेको स्टे««वेरीलगायतका सामग्री महोत्सवमा महिला उद्यमीले प्रदर्शनी गरिनेछ । ककनी क्षेत्रमा मुलाका चाना, सिन्कीको उत्पादन पनि राख्ने तयारी छ ।

यस महोत्सवमा महिला उद्यमीले राम्रै स्थान पाउनेछन् ?

अहिलेसम्मको अवस्था हेर्दा महिला तथा घरेलु उद्यमीको लागि छुट्याइएको ५० वटा स्टल सबै नै प्रयोग हुनेछ भन्ने अपेक्षा हामीले राखेका छौँ ।

महिला उद्यमीलाई महोत्सवको प्रदर्शनीले कस्तो फाइदा होला ?

यसबाट धेरै नै फाइदा हुन्छ । महोत्सवमा प्रदर्शनीका कारण उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार पाउने सम्भावना रहन्छ । बजारीकरणको लागि यो प्रदर्शनीले सकारात्मक प्रभाव पार्नेछ । आफ्ना उत्पादन विक्री गर्न राम्रो माध्यमको विकास हुनेछ र प्रचारप्रसारको लागि पनि महोत्सवले राम्रो हुनेछ भन्ने विश्वास हामीले गरेका छौँ ।