
नेपाली कांग्रेसले अहिले कस्तो अभियान सञ्चालन गरिरहेको हो ?
आन्तरिक संगठनलाई विधि विधानअनुसार सञ्चालन गर्न र विधानमा तोकेका प्रक्रिया अनुसार समितिलाई पूर्णता दिने अनि विधानमा तोकिए अनुसार विभाग तथा संगठनहरु निर्माण गर्ने र विभिन्न विपद्का बेला नागरिकलाई सहयोग पु¥याउनको लागि विकास कार्यदलको रुपमा सेवा दल विस्तारको कामलाई अघि बढाउन यो अभियान सञ्चालन गरिएको हो । पार्टीको विधानको व्यवस्थापनसँगै पार्टीलाई प्रविधिमैत्री बनाउने, पार्टीको महाधिवेशनदेखि संघ तथा स्थानीय तहको निर्वाचनको बेला प्रत्यासी भएका साथीहरुले टिकट नपाउँदा केही असन्तुष्टीहरु रहेका हुन सक्छन् त्यसैले भावनात्मक एकता ल्याउने भनेर मुख्यतया यिनै तीन वटा विषयसँग सम्वन्धित रहेर साउन २० गतेदेखि ३० गतेसम्म केन्द्रीय प्रतिनिधि गुरु बरालको उपस्थितिमा अभियान सञ्चालन भएको हो ।
यो कार्यक्रम पालिकास्तरीय हो कि वडास्तरीय हो ?
यो पहिलो चरणमा वडाका सभापतिहरु सहभागी गराएका सञ्चालन गरिएको हो । नेपाली कांग्रेसको ८ वटा तहमध्ये ६ वटा तहसम्म हामीले यो कार्यक्रम सम्पन्न गरिसकेका छौँ । दुई वटा तहमा भदौ १० गतेदेखि भदौ २४ गतेदेखि दोस्रो चरणको कार्यक्रम लिएर जाँदैछौँ । पालिका तह, प्रदेशसभा, क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, र बागमति प्रदेश कार्यसमिति कार्यक्रममा सहभागी भएका छन् ।
तपाईले तीन वटा मुख्य उद्देश्यमा रहेर कार्यक्रम सञ्चालन गरिएको भन्नुभयो, मुख्य उद्देश्य हासिल गर्न कार्यकर्तालाई कसरी जागृत गराउने काम भयो ?
सबै भन्दा पहिला कांग्रेसको विधान बमोजिम संगठनलाई व्यवस्थापन गर्ने कुरामा अधिकांश गाउँपालिकाहरुले नियमित वैठक वसेको र मनोनित गर्ने कुरा पनि धेरै जसो कार्यसमितिले गरिसकेको पाइयो । पूर्णता नपाएका संगठनहरु पनि असोज १५ गतेभित्रै पूरा गर्ने प्रतिवद्धता व्यक्त भएको छ । लोकतान्त्रिक अभ्यासका क्रममा पार्टीका केही साथीहरुवीचको प्रतिष्पर्धालाई भावनात्मक एकता गराउने अभियानमा आम कार्यकर्ताहरुको सुझावका साथै कार्यकर्ताहरुलाई कसरी अनुशासित बनाउने, अनुशासनको दायरामा ल्याउने पार्टीलाई विधान बमोजिम अगाडी बनाउने काम भएको छ । दोस्रोमा प्रविधिमैत्री बनाउन टोल सभापतिदेखि वडासभापति र वडासमितिसम्मले सामाजिक सञ्जालको बृहत प्रयोग गरी आमसञ्चारको माध्यमलाई प्रयोग गरी पार्टीको गतिविधि प्रकाशित गर्ने, विज्ञप्ती तथा, वैठक, भेला, कार्यक्रमको बारेमा जानकारी दिने, प्रविधिको बारेमा अभिमुखीकरण गराइने छ । यसका लागि हामीले ८८ वटै वडामा प्रतिनिधिहरु खटाउने छौँ । गाउँको विपद् व्यवस्थापनका लागि सेवा दल, वडातहदेखि जिल्ला तहसम्म हामी सम्मेलन गर्दैछौँ । मंसिरमा केन्द्रीय सहासमितिको सम्मेलन पनि हुँदैछ । त्यसभन्दा अघि हामीले त्यो भन्दा तल्लो तहमा वडादेखि पालिका, प्रदेशसभा सम्मेलन, क्षेत्रीय, जिल्ला सम्मेलन, बागमति प्रदेश सम्मेलन गरेर महासमितिको वैठकसम्म जाने योजना हामीले बनाएका छौँ । पार्टीले अनलाईनबाट पार्टी सदस्यता आव्हान गरेका छौँ । अनलाईन सदस्यतालाई आम सर्वसाधारणसम्म पु¥याएर क्रियाशील सदस्यता बनाउने र पुरानो नविकरण गर्ने अभियान सञ्चालन गर्ने र ८८ वटै वडामा जिल्ला प्रतिनिधिहरु खटाउने तयारी हामीले गरिसकेका छौँ । उनीहरु यसको लागि हामीले भदौंको पहिलो हप्ता अभिमुखीकरण गोष्ठी पनि सञ्चालन गर्दैछौँ । गोष्ठीपछि कम्तिमा ३ महिना उनीहरु कमिटिमा रहने छन् ।
यो सेवा दल भनेको नेपाली कांग्रेसको नयाँ भातृ संगठन हो ?
यो नयाँ संगठन हो । पार्टीको साउन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको केन्द्रीय कार्यसमितिको वैठकले कोभिड तथा अन्य विपद्को बेला कहिले नेविसंघले गर्ने कहिले तरुणदलले गर्ने, महिला, किसान संघले गर्ने भन्दा पनि गाउँमै वस्नेहरुबाट छनौट गरेर गाउँकै विकास निर्माणमा सहयोग गर्न सक्ने, नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहयोग गर्न सक्ने, वातावरण व्यवस्थापनमा सहयोग गर्न सक्ने, सरसफाई र चेतनाको काम गर्न सक्ने स्वयंसेवक साथीहरुलाई शैक्षिक रुपमा ज्ञान हाँसिल गरेका गाउँमै म केही गर्न सक्छु भन्ने साथीहरुलाई आव्हान गरेर त्यसमध्येबाट पनि छनौट गरेर उहाँहरुको विज्ञता र प्रतिवद्धताको आधारमा परिचालन गर्ने गरी गाउँको विकासमा सहजीकरण गर्ने गरी यो सेवा दल गठन गर्न लागेका छौँ ।
सेवा दलको सांगठनिक संरचना कस्तो हुनेछ ?
अहिले सबै पालिकामा पालिकास्तरीय संरचना निर्माण हुनेछ । त्यो पालिकाले प्रत्येक हरेक टोलमा टोल कार्यसमिति र सानो वडामा एउटा कार्यसमिति बनाएर उनीहरुको सम्पर्क केन्द्र स्थापना गर्ने प्रविधिको प्रयोग गराउने रहेको छ । गाउँपालिकाहरुले असोज १५ गतेभित्र सेवा दल गठन गरिसक्ने प्रतिवद्धता व्यक्त भएको छ ।
प्रसंग बदलौँ, नुवाकोटमा कांग्रेसभित्रको गुट व्यवस्थापनको कुरा पनि यो अभियानमा जोडियो कि ?
कांग्रेसभित्र यस्ता धेरै कुराहरु आएका छन् । सबैभन्दा पहिला नेतृत्वले कार्यकर्ताको भावना र विधान अनुसार चल्नुप¥यो, पार्टीलाई संस्थागत रुपमा चलाउनुप¥यो भन्ने जिज्ञासा, सुझाव तथा प्रतिवद्धता पनि सँगै आएको छ । हामी पालिका तहमा जाँदा त्यो भन्दा तल्लो तहका साथीहरुले सुझाव र जिज्ञासा राख्नुहुन्छ सम्वन्धित पालिका कार्यसमितिले प्रतिवद्धता व्यक्त गरेर आएका सुझावहरुलाई हामीले कार्यान्वयन गर्छौँ भनेर प्रतिवद्धता गराएका छौँ । पार्टीलाई संस्थागत रुपमा अघि बढाउनको लागि सामूहिकताको माध्यमबाट अगाडी बढाउने, पार्टीलाई जिम्मेवार पदाधिकारीहरुलाई अनुशासनको दायरामा कडाईका साथ राख्ने, संगठनलाई जनताको विकाससँग जोड्नेलगायतका प्रतिवद्धता व्यक्त भएको छ । पार्टीलाई विकाससँग जोड्नको लागि जनप्रतिनिधिको बारेमा पनि व्यापक गुनासो आएको छ । पार्टी कार्यकर्ताहरुलाई वेवास्था गरेर जनप्रतिनिधिहरु अगाडी बढेको गुनासो छ । पार्टीभित्रको आन्तरिक मनमुटावलाई व्यवस्थापन गर्नको लागि साथीहरुसँग बसेर छलफल, समन्वय गर्ने सबै कार्यक्रममा एकताका साथ अघि बढ्ने भन्ने प्रतिवद्धता व्यक्त भएको छ । यसैले अव गुटको कुरा कम हुन्छ मलाई लागेको छ ।

भनेपछि जनप्रतिनिधि र कार्यकर्तावीचको मनमुटाव पनि देखियो ?
जनप्रतिनिधि भइसकेपछि हामी साझा हुनुपर्छ भन्ने भावनाको विकास जनप्रतिनिधिहरुमा देखिँदा केही कार्यकर्ताहरुको भावनामा ठेस लागेको हुन सक्छ । जनप्रतिनिधि भइसकेपछि आम नागरिक र पार्टी कार्यकर्ता सबै पक्षको भावनालाई सम्मान गर्नुपर्छ भन्ने प्रतिवद्धता व्यक्त भएको छ । पार्टीको अनि जनताको प्रतिनिधि बन्नको लागि नागरिकको आवश्यकता, पार्टीको समन्वय र सरकारी नियम कानुनको परिधिका आधारमा समन्वयात्मक रुपमा काम भइरहेको भन्ने देखिन्छ । यदि त्यस्तो नभएको भए भोलीका दिनमा सच्याउँदै लैजाने कुरा भएको छ ।
गुटकै कारण एकले अर्कोकोे अस्तित्व नै नस्वीकार्ने अवस्थामा पुगेको छ भन्ने सुनिन्छ नी ?
लोकतन्त्रमा फरक फरक विचार राख्नुलाई स्वभाविक मानिन्छ । नेतृत्वले आफ्नो नेतृत्व तहमा पुगिसकेपछि आफुसँग पराजिट टिमलाई पनि सँगसँगै लैजानुपर्दछ भन्ने कार्यकर्ताको भावना रहेको छ । नेताहरुले पनि हामी समन्वयात्मक रुपमा अघि बढ्न तयार छाँै भनेर प्रतिवद्धता व्यक्त पनि भएको छ । नुवाकोट जिल्लाका चारै जना केन्द्रीय सदस्यहरु, जिल्ला कार्यसमिति, पूर्वृ सभापतिहरु, पदाधिकारीहरुसँग छलफल भएको छ । जिल्लामा समूहगत रुपमा पार्टीमा रहीरहे पनि पार्टीको गतिविधिमा त्यस्तो प्रस्तुती कुनै पनि समूहले नगर्ने भनेर प्रतिवद्धता व्यक्त भइसकेको छ ।
प्रस्तुती : भोलाराज पौडेल

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !