
विदुर / विदुर नगरपालिकाले नगर क्षेत्रका ठेलागाडा नियन्त्रणमा लिने अभियान सञ्चालन गरेको छ । विदुर नगरपालिकाले विहीवार र शुक्रवार विदुर र बट्टार क्षेत्रबाट सवारी साधन सञ्चालनमा अवरोध हुने गरी राखिएका ६ वटा ठेला नियन्त्रणमा लिएको हो ।
विदुर नगरपालिकाद्वारा विदुर वडा नं. २ र विदुर–४ स्थित बट्टार बजार एरियामा ठेलागाडामा सामान राखी व्यापार व्यवसाय संचालन गरिरहेका ठेला गाडाहरु हटाइएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए । ‘प्रारम्भिक चरणमा ठेलागाडा नियन्त्रणमा लिए पनि सामान भने फिर्ता दिइनेछ ।’ प्रमुख श्रेष्ठले भने ‘अवका दिनमा नियन्त्रणमा लिइएका सामान भने फिर्ता नहुन पनि सक्छ ।’

सडकको नालीसम्म व्यापारको लागि सामान राख्ने केही पसलका सामानसमेत नियन्त्रणमा लिइएको विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दीपक कायस्थले बताए । यो अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने बताउँदै वडाअध्यक्ष कायस्थले सडकमा अवरोध हुने गरी सामान नराख्नसमेत सबैलाई आग्रह गरेका छन् ।
तीन महिना अघि फुटपाथ तथा सडकमा राखिएको अस्थायी संरचना हटाउनको लागि नगर कार्यपालिकाले आग्रह गरेपनि वेवास्था गर्नेहरुको सामान नियन्त्रणमा लिइएको उनले बताए ।
नगरपालिकाको अनुरोधलाई अटेरि गर्ने ठेलागाडा जफत गर्न शरूवात भईसकेको हुँदा हटाउन बाँकी घुम्ती तथा ठेलाहरु हटाउन विदुर नगरपालिकाले सबैमा अनुरोधसमेत गरेको छ । नगरपालिका भित्रका मुख्य बजार क्षेत्रका सार्वजनिक स्थान, सडक क्षेत्रहरूमा सडक अतिक्रमण गरी ठेलागाडा तथा सामानहरू राखी व्यापार व्यवसाय संचालन नगर्नसमेत नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !