२०८२ कार्तिक २१, शुक्रबार
  • User भोलाराज पौडेल असार १७, २०८०

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं.३ काहुलेमा रहेको ऐंसेलुभूमे माध्यमिक विद्यालय पूर्वाधारको हिसावमा जिल्लाकै एक मात्र सुविधा सम्पन्न विद्यालय बन्न पुगेको छ ।

जिल्लाको दुर्गम ठाउँमा रहेको यस विद्यालयको भौतिक संरचना निर्माण र अन्य सबै प्रकारका सुविधाका हिसावले ‘फाइभ स्टार’ को जस्तै भएपछि पछिल्लो समय चर्चामा रहेको छ । विद्यालयमा निर्माण भएको संरचनाका कारण अन्य ठाउँबाट विद्यालय हाताभित्र प्रवेश गर्ने जोकोहीको मनै लोभ्याउने खालको छ ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालयमा आवास सुविधादेखि कृषि तथा सुचना प्रविधिको हिसावले बलियो जिल्लाकै एक मात्र विद्यालयको रुपमा विकसित भएको छ । विद्यालयको आफ्नै कम्युटर ल्याव, विज्ञान, गणितलगायतका विषयतगत छुट्टाछुट्टै प्रयोगशालासहित पुस्तकालयसमेत विद्यालयमा छ ।

कक्षा ९ देखि कक्षा १२ सम्म बाली विज्ञान विषयमा प्राविधिक विषयको पढाई हुँदै आएको यस विद्यालयमा बाली विज्ञानको आफ्नै ल्याव तथा विउविजन भण्डारण कक्ष छ । विद्यार्थीहरुले विद्यालयको आफ्नै जग्गामा कृषि उत्पादन गरी नजिकैको बजारमा विक्रीसमेत गर्न पाएका कक्षा १२ मा अध्ययनरत छात्रा चन्दा तामाङले बताइन् । ‘

विद्यालयमा बाली विज्ञानको पढाई हुन थालेपछि हामीले गोँलभेडा रोपेर उत्पादनको लागि तयार पारेका छौँ’ तामाङले भनिन् – ‘विद्यालयमा सिकेको सीप घरमा पनि प्रयोग गर्ने गरेका छौँ ।’ विद्यालयको आफ्नै जग्गामा जग्गामा बाली विज्ञानको प्रयोगात्मक पढाई हुने गरेको छ । कृषि ल्यावमा कृषि कर्मको लागि चाहिने उपकरण, विउ, विषादी तथा अन्य सामग्रीसमेत धराखिएको छ । बाली विज्ञान विषयमा एक सय ४ जना विद्यार्थी प्राविधिक विषयमा पढ्दै आएका छन् ।

विद्यालयमा प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रम अन्र्तगत स्वास्थ्य उपचार हुँदै आएको छ । विद्यालयमा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत समुदायका अभिभावकलेसमेत सामान्य स्वास्थ्य परीक्षण हुँदै आएको छ । विद्यालयमा ६ सय १५ जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । कृषि विषयको प्राविधिक विषयमा एक सय ४ जना र साधारणतर्फ पाँच सय ११ जना विद्यार्थी पढ्दै आएको विद्यालयका प्रधानाध्यपक पवन पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा २७ जना शिक्षक छन् विद्यालय कर्मचारी ४ जना रहेका छन् । कृषितर्फ ९ जना शिक्षक छन् भने साधारणतर्फ १८ जना शिक्षक रहेका प्रअ पौडेले बताए । विद्यालयले ३ जना शिक्षक र बाहिरी फिल्डमा एक जना गरी ४ जना निजी स्रोतमा राखिएको बताउँदै उनले ती शिक्षकलाई मासिक मासिक ८० हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउनु परेको बताए ।

विद्यालयको लागि सुरुमा अहिलेका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेले ५ रोपनी ८ आना जग्गा निःशुल्क दान गरेका थिए । विद्यालयको लागि आवश्यक थप जग्गा २० रोपनी विभिन्न समयमा विद्यालयले खरिद गरेका छ । बाली विज्ञान विषयको प्रयोगात्मक कार्य र कृषि उत्पादनको लागि १० रोपनी जग्गा र थप ५ रोपनी भाडामा लिएर कृषि उत्पादन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए । २०४६ सालमा स्थापना भएको यो विद्यालय नेपाल सरकारको नमूना विद्यालय विकास कार्यक्रममा २०७५ सालमा छनौट भएपछि विद्यालयमा सुविधा सम्पन्न संरचनाहरु निर्माणले गति लिएको अध्यक्ष न्यौपानेले बताए । पञ्चवर्षिय योजना अन्र्तगतको अन्तिम वर्षको कार्यक्रम यसै वर्षदेखि सम्पन्न भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा प्रभावकारी कम्युटर ल्याव, होस्टेल, विद्यालयभित्रै चमेना गृह, विज्ञान प्रयोगशाला, स्मार्ट बोर्डबाट पठनपाठन हुने गरेको छ । विद्यालयमा दलित तथा जनजाति विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयले जनाएको छ ।

नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत ६ करोड ८२ लाख रुपैयाँ खर्च भइसकेको छ । विद्यार्थीहरुलाई खेलकुदप्रति रुचि बढाउन विद्यालयले आफ्नै फुटसल निर्माण गरेको छ । फुटसलमा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन हुने गरेका छन् । विद्यालयको आफ्नै खेलमैदान पनि छ ।
अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयमा आइटिरियम हल, माछापोखरी दक्ष एवं परिश्रमी शिक्षक रहेकाले विद्यालयमा विद्यार्थीको आकर्षण बढी भएको किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए ।

प्रधानमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यक्रममा छनौट भएको विद्यालयले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि पढाईको साथै सीप सिक्ने र आर्थिक उपार्जन गर्ने कार्यसमेत सञचालन गर्दै आइरहेको छ । यो कार्यक्रम पनि प्रभावकारी भएको विद्यालयले जनाएको छ ।

  • User भोलाराज पौडेल प्रकाशित: असार १७, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !