
विदुर । नुवाकोटका दुई नगरपालिकासहित ११ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि नयाँ बजेट सार्वजनिक गरेका छन् । सुर्यगढी गाउँ पालिकाले भने यस अघि नै बजेट सार्वजनिक गरिसकेको छ ।
विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०÷८१ को लागि १ अर्व १२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नपाको १३ औं अधिवेशनमा उपप्रमुख प्रभा बोगटीले १ एक अर्व १२ करोड २३ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् । विदुरले पर्यटन, शिक्षा स्वास्थ्य, ऐतिहासिक सम्पदा, पूर्वाधार, खेलकुद, ऐतिहासिक स्मारक, सुरक्षाका लागि सीसीटीभीलगायत बजेटमा प्राथमिकता दिइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा विदुर नगरपालिका र नेपाल विद्युत् प्राधिकरण्को संयुक्त साझेदारीमा विदुर जल विहार तथा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ । यसको लागि त्रिशूली जलविद्युत योजनाको बालुवा थिक्राउने पोखरी (सिलट्याङकी) प्रयोग गरिनेछ । नगरभित्र एसईई दिएर बसेकालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने बजेटको उद्देश्य रहेको छ । उपप्रमुख बोगटीले नगरसभामा नगरको अर्थ विधेयक २०८०, विनियोजन विधेयक २०८० प्रस्तुत गरेकी थिइन् ।
विदुर नगरप्रमुख राजन श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको कार्यसम्पादनको लागि ‘हेल्लो मेयर कार्यक्रम’ सञ्चालन गरिने बताए । सुशासन तथा संस्थागन विकासका लागि नगरको कार्य सम्पादनको गुणस्तरको लागि हेल्लो मेयर कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ ।
यस वर्ष विदुर नगरपालिकाले ‘स्वच्छ सफा, हरियाली सहर, हाम्रो विदुर हेर्ने सबैको रहर’ भन्ने नारा लिएको छ । नगरपालिकाले उद्योग सहकारीअन्तर्गत घरेलु उत्पादित मदिरा तथा पेयपदार्थ व्यवस्थित गर्न कानुन निर्माण गर्ने नगरसभामा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छ ।

यता, बेलकोटगढी नगरपालिकाले पनि नगरसभा सम्पन्न गरेको छ । नगरसभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद अर्जुननरसिंह केसीले स्थानीय जनप्रतिनिधिहरु विकास निर्माणका मेरुदण्ड भएको बताउँदै सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको भूमिकामा स्थानीय जनप्रतिनिधिहरु निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवं सांसद विमला सुवेदीले जनताले प्रत्यक्ष सरोकार राख्ने सरकार नै स्थानीय सरकार भएकाले स्थानीय सरकारको भूमिकालाई नविर्सन जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।
बेलकोटगढीले आगामी आर्थिक वर्षको लागि ८० करोड रुपैयाँ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गत वर्ष बेलकोटगढीले ९७ करोडको बजेट प्रस्तुत गरेको थियो । संघीय सरकारले बजेट घटाएर पठाएको र गत वर्ष राजश्व पनि कम संकलन भएकाले यस वर्ष बजेटको आकार हटेको नगर प्रमुख जगतबहादुर लामाले बताए ।
समृद्ध बेलकोटगढीको आधार कृषि, स्वास्थ्य, शिक्षा पर्यटनसहितको पूर्वाधार भन्ने नाराका साथ जिल्लाको नगरपालिकाले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपप्रमुख शिव दाहालले बजेट प्रस्तुत गरेका थिए भने नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा ‘समृद्ध बेलकोटढी’को नारालाई विगतका वर्षहरुमाझै दोहो¥याएको छ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन,सडक पूर्वाधार लायतका कार्यक्रमहरु बेलकोटगढीले समावेश गरेका छ ।
यस अघि सुर्यगढीगाउँपालिकाले ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले प्रस्तुत गरेको बजेटमा वित्तीय समानीकरणतर्फ ७ करोड ५६ लाख, संघीय ससर्त अनुदानद १५ करोड ७४ लाख, पुँजीगततर्फ ५५ लाख, विशेष अनुदानतर्फ १ करोड २० लाख, समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँडबाट प्राप्त ६ करोड ४९ लाख ८४ हजार ६ सय प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !