
विदुर । पछिल्लो समय नुवाकोटमा घरायसी प्रयोजन तथा उपभोगका लागि गरिने परम्परागत कुँडार तथा करेसाबारी खेतीको प्रचलन हट्दै गएको छ । बसाईँसराई र बढ्दो शहरीकरण तथा आधुनिकतासंगै कुँडार खेती र करेसामा गरिने तरकारीजन्य खेतीको ठाउँ अहिले (गार्डेन) सुन्दर बगैँचाले ढाकेको छ ।
शहरीकरण र जिल्लामा बढ्दो आधुनिकतासंगै मौलिक र परम्परागत शैलीका घरहरु लोप हुँदै गएसंगै कँुडार तथा करेसाबारीको संस्कृति पनि हराउँदै गएको हो । ढुंगा माटोका परम्परागत घरको ठाउँ अहिले आधुनिक र सुविधा सम्पन्न घर निर्माण हुन थालेका छन् । करेसाबारीमा तरकारी उत्पादन गरेर आफूलाई आवश्यक तरकारी आफैंले उत्पादन गर्ने प्रणालीको अन्त भएसँगै बजारबाट विहान बेलुकीको छाक टार्न खरिद गर्नुनपर्ने बाध्यताको विकास भएको छ ।

सहर बजारमा मात्र होइन यस्तो समस्या अहिले ग्रामीण क्षेत्रमासमेत देखिन थालेको छ । बजार क्षेत्रमा आधुनिक घर निर्माणसँगै घरभित्र र बाहिरको साजसज्जामा परिवर्तन हुन थालेसंगै कुँडार तथा करेसाबारी खेती हराउन थालेको हो । घर छेउछाउ तथा आँगन र रछ्यानको ठाउँ अहिले कंक्रीट ढलान तथा स्लेट ढूंगा बिछ्याउने लगायत थरीथरिका बोटबिरुवा सहित फुलबारीको रुपमा परिणत हुन थालेपछि कुँडार र करेसाबारी परम्परा हट्दै गएको हो । कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनाल सहरी क्षेत्र बढ्दो आधुनिकताको नाममा सहरी क्षेत्रमा करेसा खेती गर्ने चलन हराउँदै गएको बताउँछन् । यसले नेपालको मुख्य पेशाको रुपमा रहेको कृषिमा परनिर्भर हुनुपर्ने बाध्यता बढ्दो छ भने वर्षेनी दैनिक उपभोग्य तरकारी खरिदका नाममा ठूलो धनराशी बाहिरिने गरेको छ । ‘पहिले करेसावारी हुन्थ्यो, विहान बेलुकी हातमुख धुने र भाडा माझेको पानीले एउटा परिवारको लागि पुग्ने तरकारी खेती गर्न सकिन्थ्यो’ खनालले भने– ‘जुठ्यानको पानीले नै एउटा परिवार तरकारीमा आत्म निर्भर हुन्थ्यो ।’ उनले तरकारी खेती गरिने करेसावारीमा अहिले स्टेट ढुंगा र फूलवारीले सजिएकाले दैनिक उपभोग्य तरकारीमा पनि परनिर्भर बन्नु परेको छ ।

करिव दशक अघिसम्म सदरमुकाम बिदुर लगायत नगर तथा स्थानीय गाउँघरमा तरकारीजन्य बस्तुका लागि आफ्नै कुँडार र करेसाबारीमै निर्भर रहेका थिए । तर, पछिल्लो समय बसाईँसराई तथा बढ्दो शहरीकरण र आधुनिक जीवनयापनको रहरमा सौन्दर्य र आकर्षणको लागि आँगन र घर छेउछाउका कुँडार र करेसाबारी मासिनेक्रम दिन प्रतिदिन बढेसंगै ताजा र स्वच्छ हरियापरिया तरकारीको स्थानीय गाउँठाउँको मुख्य स्रोतमा कमी आएको अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष रामहरि पाण्डे बताउँछन् । ‘युवा पलायन बढ्दो क्रममा छ, गाउँघरमा बूढापाका र गर्न नसक्ने जमात बढ्दै करेसावारीमा गरिने खेती हराउँदै गएको छ’ पाण्डे भन्छन् – ‘आधुनिकताको नाममा विहान वेलुकीको छाक टार्ने तरकारीमा पनि पूरै वर्ष परनिर्भर हुनुपरेपछि परिवारको आर्थिक अवस्थामासमेत विचलन आएको छ ।’

भाञ्छा तथा घरभित्र र बाहिरबाट निस्कने सामान्य फोहर एवं प्रांगारिक मलको प्रयोगमा साँझ बिहानको समय र श्रमको सदुपयोग गरी हुने कुँडार तथा करेसाबारी खेती हराउँदै गएपछि अहिले सर्वसाधारणमा अतिरिक्त व्ययभार थपिएको छ भने जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको छ । आफ्नै उत्पादन सुपथ मुल्यमा प्रयोग गर्न पाइने भएपनि बजारबाट विषादी प्रयोग भएको महंगो तरकारी खेतीले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
करेसाबारी खेतीमा आएको कमीसंगै बिगतमा स्थानीय गाउँभरमा सहजै देखिने चिचिन्डा, घिरौंला, गोलभेडा, भेन्टा, बोडीका झाललगायत हरिया सागसब्जी लसुन, प्याज, धनियाँ, चम्सुर, पालूंगजस्ता तरकारीजन्य बस्तु अहिले कुँडारमा देखिन मुस्किल भएको छ । निरोगी र दिर्घ जीवनको आधारसमेत मानिने यस्ता अर्गानिक करेसाबारी खेती हट्दै गएका कारण अहिले स्थानीयमा अतिरिक्त व्ययभार र स्वास्थ्य सम्बन्धी जोखिम्का साथै आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्य समेत प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभावित बनेको छ ।

राजकृष्ण श्रेष्ठ




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !