
म्यागङङ । नुवाकोटको म्यागङ गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा निर्माण भएका दिवा खाजा भान्छा घरको सोमवार हस्तान्तरण गरिएको छ । राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना नुवाकोट अन्र्तगत सो गाउँपालिकामा भान्छा घर र हातधुने बालमैत्री धारा निर्माण भएको हो ।

म्यागङ गाउँपालिकामा निर्माण भएका ८ वटा भान्छाघर र ७ वटा हातधुने बालमैत्री धाराको वडा नं. ३ को बाघभैरव आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रममा विश्व खाद्य कार्यक्रम दिवा खाजा कार्यक्रम इकाइ नेपाल डा. क्रिष्टिना मर्फीले गाउँपालिका अध्यक्ष आशा तामाङलाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै डा. क्रिष्टिनाले दुर्गम गाउँमा दिवा खाजा कार्यक्रम प्रभावकारी रहेको बताउँदै स्थानीय सरकारले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिइन् । उनले बाघभैरव विद्यालयका विद्यार्थीहरुले देखाएको क्रियाकलापको प्रशंसा गर्दै हस्तान्तरण कार्यक्रमप्रति खुशी व्यक्त गरिन् ।

राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना प्रमुख डा. दीपक गौतमले परियोजनको विस्तृत विवरण सार्वजनिक गर्दै नुवाकोट जिल्लाभर ३५ हजार ३ सय विद्यार्थी सहभागी हुँदै आएको बताए । उनले इसिडिदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी १५ रुपैयाँका दरले ९ करोड ५३ लाख १० हजार रुपैयाँ खर्च भएको बताए । म्यागङ गाउँपालिकामा २० वटा सामुदायिक विद्यालयका आधारभुत र प्राथमिक तहका एक हजार सात सय ९५ जना विद्यार्थी दिशा खाजा कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
कार्यक्रममा साझेदार संस्था कार्डसन नेपालका कार्यकारी निर्देशक पदम उप्रेतीले दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड दिइएकोले यसमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । दिवा खाजा कार्यक्रमका लागि स्थानीय सरोकारवालासमेत जोडिएको उल्लेख गर्दै अभिभावक, कृषक, सहकारीलगायतका क्षेत्रमा दिवा खाजको महत्वको बारेमा प्रशिक्षणसमेत दिइएको बताए । उनले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले अपनत्व लिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आशा तामाङले दिवा खाजा कार्यक्रमको लागि आगामी वर्षदेखि गाउँपालिकाले प्रतिविद्यार्थी ५ रुपैयाँ थप गरी २० पु¥याइने घोषणा गरे । उनले दिवा खाजा कार्यक्रम प्रभावकारी रहेकोले यसलाई निरन्तता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले बजारका अस्वस्थकर खानाबाट बालबालिकालाई बञ्चित गराई स्थानीय उत्पादनका पोषणयुक्त खाना खुवाउनको लागि गाउँपालिका प्रयासरत रहेको धारणा राखिन् ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष हरिबहादुर तामाङ, कार्यपालिका सदस्य सिंहराम घलेलगायतले विद्यालयहरुमा दिवा खाजा कार्यक्रमको लागि खाजा बनाउने भान्छे नभएकोले नभएका विद्यालयहरुमा भान्छेको व्यवस्था गर्न तथा साझेदारीमा कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए ।
विश्व खाद्यकार्यक्रम अन्र्तगत सो गाउँपालिकाका विद्योपार्जन आधारभुत विद्यालय, बाघ भैरव आधारभुत विद्यालय, वैजयन्ती शिक्षा निकेतन आवि, चन्द्रदेवीआवि, बज्रदेवी आधारभुत विद्यालय,सुन्दरादेवी आधारभुत विद्यालय, देवीस्थान आधारभुत विद्यालयमा भान्छाघर सहित हातधुने स्थान निर्माण भएको छ भने राष्ट्रि«य आधारभुत विद्यालयमा हातधुने धारा मात्र निर्माण भएको सो परियोजनाका इन्जिनियर सुमन दाहालले बताए ।

एक करोड १ लाख ६ हजार १ सय ५६ रुपैयाँको लगानीमा यी विद्यालयहरुमा भान्छा घर तथा बालमैत्री सामूहिक धारा निर्माण गरिएको परियोजनाले जनाएको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आर्कषक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने तामाङ भेषभुषामा सजिएका विद्यार्थीहरुको प्रतिभाका लागि अतिथिहरुले प्रशंसा गरेका थिए ।

भोलाराज पौडेल




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !