२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता बैशाख ३१, २०८०

बाघखोर / बेलकोटगढी नगरपालिकाले यहाँको एक माध्यमिक विद्यालयलाई कारवाही गरी कक्षा घटुवा गरिदिएको छ । वडा नंं १२ मा रहेको चण्डादेवी माविलाई आधारभुत विद्यालयमा घटुवा गरिदिएको हो । एसइइसम्मको पढाई हुने यो विद्यालयमा विद्यार्थी संख्या कम भएको भन्दै नगरपालिकाले यसै शैक्षिक सत्रबाट तीनसम्मको मात्रै पढाई सञ्चालन गर्ने अनुमति दिएको छ । नगरपालिकाले एक माविसहित १९ विद्यालयलाई कारवाही गरी घटुवा गरिदिएको हो ।

कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश बालकक्षादेखि कक्षा १ सम्म पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ । बेलकोटगढी–१२ मा रहेको चण्डादेवी माविमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एक सय १६ विद्यार्थी देखाए पनि नियमित उपस्थिति र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले उक्त विद्यालयलाई बालविकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ । सो विद्यालयसहित विभिन्न १९ विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगरउपप्रमुख शिवप्रसाद दाहालले बताए । कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु–याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनः विचार गरिने उनले बताए । ‘विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन’, उपप्रमुख दाहालले भने । बेलकोटगढी नगरपालिकाभित्र हाल १९ माध्यमिकसहित ५४ सामुदायिक विद्यालय सञ्चालित छन् । पालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको बताएका छन् ।

विद्यार्थीको संख्या विवरण गतल तयार गरेर धेरै विद्यार्थीलाई पढाई रहेको प्रतिवेदन तयार पारेको आरोपमा नगरपालिकाले १९ वटा विद्यालयलाई गर्ने नुवाकोटको १९ वटा सामुदायिक विद्यालयहरूको कक्षा घटुवा भएको छ । हचुवामा गरिएको यो निर्णयको सर्वत्र विरोध भएपछि नगरपालिकाले केही दिनका लागि यो निर्णय स्थगन गरेको थियो । भर्ना अभियानका क्रममा तोकिए अनुसार विद्यार्थी संख्या प्रर्याप्त भएमा कक्षागत घटुवा नगर्ने निर्णयसमेत गरेको थियो । विद्यालयलाई कक्षागत घटुवाको कारबाहीलाई नगरपालिकाले समायोजन नाम दिइएको छ ।

शैक्षिक सत्र २०७८/७९ मा निरन्तर विद्यार्थी संख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । बेलकोटगढी नगरपालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म) स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी संख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । ‘विद्यालयले विद्यार्थी संख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो संख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो’, नगरप्रमुख गुरुङले भने, ‘विद्यार्थी कम भएका विद्यालयले अनुगमनमा पुगेका कार्यदलका पदाधिकारीलाई घरमा चाडपर्व परेको, अभिभावक घरायसी काममा व्यस्त भएको लगायतका बहाना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी संख्याअनुसार न्यून पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको हो ।’

  • User योसमय सम्वाददाता प्रकाशित: बैशाख ३१, २०८०

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !