२०८२ कार्तिक २१, शुक्रबार
  • User योसमय सम्वाददाता कार्तिक २, २०७९

नुवाकोटमा शीर्ष नेताहरुको सहमति विपरित राजनीतिक दलहरुले गराएको उम्मेदवारी निर्धारित समयमा फिर्ता नहुँदा गठबन्धनभित्र अविश्वास बढेको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशमा सत्तापक्षीय गठबन्धनले आ–आफ्नै दलको मनोनयन दर्ता गराएका थिए । सहमति अनुसार प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेस र प्रदेशसभा क का लागि एकीकृत समाजवादी र प्रदेश सभा ख मा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । प्रदेश सभा ख मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामालाई समेट्नको लागि लामाको उम्मेदवारी परेपछि विवाद भएको थियो । सो विवादमा बुधवार शीर्ष नेताहरुले माओवादी केन्द्रले पाउने प्रदेश सभा ख मा नेपाली कांग्रेसका बहादुरसिंह लामा र समाजवादीको भागमा परेको प्रदेश सभा क मा माओवादीका रामप्रसाद ढुंगानाको उम्मेदवारी कायम गरेको हो ।

तर, प्रदेश सभा ख मा उम्मेदवारी दिएकी माओवादी नेता स्व. पोष्टबहादुर बोगटीकी पत्नी राममाया बोगटीको मात्र उम्मेदवारी फिर्ता भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी प्रदेशसभा सदस्य गिता अमात्य र समाजवादीबाट उम्मेदवारी दिएका राजेन्द्रप्रकाश लोहनीको उम्मेदवारी भने निर्धारित समयमा निवेदन नदिएका कारण फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

संघीय निर्वाचन क्षेत्र नं. २ मा भने नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रमा नेकपा एमालेको तर्फबाट संघमा पूर्व सांसद नारायणप्रसाद खतिवडा र प्रदेश क मा केशवराज पाण्डे तथा प्रदेश ख मा विजय लोप्चनको उमेदवारी कायम भएको छ ।

निर्वाचन क्षेत्र नं १ मा भने गठबन्धनका तर्फबाट संघमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हितवहादुर तामाङ र प्रदेश क मा माओवादी नेतृ राधिका तामाङ र प्रदेश ख मा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महतको उमेदवारी कायम भएको छ । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट संघमा जिल्ला अध्यक्ष बद्रि मैनाली र प्रदेश क मा सुशिल खड्का तथा प्रदेश ख मा पुर्णलाल श्रेष्ठको उमेदवारी परेको छ । राष्ट्रि«य स्वतन्त्र पार्टीलगायतका साना दलहरुले पनि उम्मेदवारी कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • User योसमय सम्वाददाता प्रकाशित: कार्तिक २, २०७९

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रिया

  • कुनै पनि प्रतिक्रिया पाईएन !